Friday, 12 October 2012

दुईसय तोला सुन र पच्चीस लाख लुटियो

फलेवास(पर्वत), आश्विन २६ -  
पर्वतको चित्रे गाविस– ७ मा एक घरबाट दुई सय तोला सुन र २५ लाखभन्दा बढी नगद लुट्ने घटनामा संलग्न अभियुक्तहरुलार्ई प्रहरीले सार्वजनिक गरेको छ । 
जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलनमार्फत लुटपाटमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न दुई अभियुक्त भने  फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्तहरुमा स्याङ्जा फेदीखोला गाविस– ७ घर भई पोखरा उपमहानगरपालिका–१७ बस्ने ४७ वर्षीय वीरबहादुर विक, गुल्मी जिल्ला दुविचउर गाविस–९ घर भई पोखरा उपमहनगरपालिका–६ बस्ने ४२ वर्षीय रामबहादुर खड्का, म्याग्दी जिल्ला ओखरबोट गाविस–१ घर भई पोखरा–१५ बस्ने ३० वर्षीय रशबहादुर घर्तीमगर, रोल्पा जिल्ला थवाङ गाविस–८ घर भई पोखरा–२ अर्चलबोट बस्ने २० वर्षीय सविन बुढा रहेका छन् ।
दाङ जिल्लाको हापुरे घर भई पोखरा बस्ने जीवन बुढामगर  र म्याग्दी ओखरबोट–१ का रेशम घर्तीमगर भने फरार रहेको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुले असोज १२ गते राति पर्वत चित्रे–७ की पवित्रा गुरुङको घरबाट सुन र नगद लुटपाट गरेका थिए । प्रहरी निरीक्षक श्याम अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले कास्की प्रहरीको सहयोगमा पोखराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
लामो समयको अनुसन्धानपछि अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी प्रमुख केदार खनालले बताउनुभयो ।