Thursday, 6 September 2012

यसरी लेखियो गौरी - राष्ट्रकवि माधव घिमिरे


'गौरी' लेख्नुअघि मैले महाकवि कालिदासका 'कुमारसम्भव' र 'रघुवंश'का 'अजविलाप' र 'रतिविलाप' शोककाव्य पढिसकेको थिएँ । ती काव्यको गहिरो कलात्मक प्रभाव ममा परेको थियो । तर, 'गौरी' लेख्दाको भरपूर सामग्री मेरो अनुभूति नै हो । तत्काल ममाथि परेको दुर्घटनाको प्रभाव मसँग प्रशस्त थियो । त्यसैले मलाई यो काव्य लेखायो । पाठकहरू दाँजेर हेर्न सक्छन्— अजविलाप र रतिविलापको प्रभाव मेरो गौरीमा छ कि छैन ? मैले गौरी लेखिरहँदा ती काव्य सम्भिmरहेको थिइनँ । मभित्र त अचानकै मूल फुट्यो आँसुको- त्यो मैले फुटाल्छु भनेर फुटालेको होइन । शोककाव्य लेखूँ भनेर लेखिएको पनि होइन । यति धेरै शोक र विरह थियो, त्यसलाई मैले अंकित मात्रै गरेँ । मैले ती दुई शोककाव्यका अतिरिक्त करुण रसको शोककाव्य भवभूतिको 'उत्तररामचरित' पनि पढेको थिएँ । तर, 'उत्तररामचरित'को करुण रस अभिव्यक्त गर्ने प्रक्रिया कालिदासको भन्दा पनि विपन्न खालको छ । मैले त्यसको प्रभाव पनि लिइनँ । अध्ययन त मैले अरू-अरूको पनि गरेको थिएँ । तर, ठीक त्यतिवेला म शोकले झ्वाम्म छोपिएको थिएँ ।

मैले काव्यको एक टुक्रा गौरी बितेको १३ दिनभित्रै लेखेको थिएँ- तिम्रो अन्तिमको सिँगार सँगिनी कात्रो कसोरी भनूँ ! सुरुको 'हे नारायण के भयो' भन्ने टुक्रा पनि मैले सुरुका दिनमै लेखेको हुँ । तर, 'गौरी' मैले कुनै योजना बनाएर लेखेको होइन । कविले कुनै पनि रचना योजना बनाएर लेख्यो भने त्यो कृत्रिम बन्छ । रचना स्वाभाविक तवरले स्फुरित हुनुपर्छ । काव्यसिर्जनामा यसपछि यो गरुँला भन्ने सामान्य योजना त हुन्छ । तर, कुनै घर बनाउँदाको योजना र काव्य सिर्जनाको योजना फरक-फरक कुरा हुन् । भावनाले समातेपछि समातिहाल्छ । लेख्दै जाँदा अब के गर्ने भन्ने सामान्य तजबिज त हुन्छ तर पहिल्यै योजनाबद्धता हुँदैन । छहराले मूल फुट्दा नदीसम्म पुग्ने बाटो के पहिल्यै बनाएको थियो र ? म नदीमा मिसिएर सँगसँगै सागरसम्म पुग्नेछु भन्ने के उसको पूर्वयोजना थियो र ? बग्दै जाँदा खोल्सामा कतै रुमल्लियो होला, भीरमा ठोक्किएर पछारियो होला, मूच्छिर्त भयो होला, कतै इन्द्रेणी पर्‍यो होला, सम्म ठाउँमा पुगेर सलल्ल पनि बग्यो होला । भावप्रकाशनको प्रसंगमा पनि त्यस्तै हो । योजना त बन्नैपर्छ, तर फरक के हो भने मूल सचेत वस्तु होइन, कवि सचेत भएकाले यहाँनिर सुरु गर्छु र यहाँ पुग्छु भन्ने सामान्य चेतना हुन्छ । तर, जहाँ अडिन्छु भन्छ, त्यहीँ अडिन कवि सक्दैन । कहिलेकाहीँ उसलाई कथाका पात्रले तानेर लैजान्छन् । कहिलेकाहीँ कविताका पंक्तिले नै डोर्‍याएर लैजान्छन् । पूर्वनिर्धारित योजना भएर मात्रै नहुने रहेछ ।
मैले 'गौरी' लेख्दा कुनै योजना बनाएको थिइनँ । गौरीको स्वर्गवास भएपछि छोरीहरूलाई मैले पहाडतिर पठाइदिएँ । काठमाडौंमा म एक्लै रहेँ । त्यतिवेला म छाउनीमा आधारशिक्षाको तालिम लिन जान्थेँ । ठमेलमा बस्थेँ । जाँदा-आउँदा बाटामा कविता गुनगुनाउँदै-गुनगुनाउँदै हिँड्थेँ । लेख्दै जाँदा मलाई परेको असह्य शोक पनि हल्का हुँदै गयो । थाहा छैन, नलेखेको भए मलाई के हुन्थ्यो ? त्यो लेखनको क्रमचाहिँ करिब एक वर्षसम्म चलिराख्यो । एउटै आसनमा एकै ठाउँमा बसेर 'गौरी' लेखिएको होइन । तर, 'गौरी'का सबै रचना काठमाडौंमै लेखिए । लेख्दै जाँदा सुरुका केही टुक्रा म मान्छेलाई सुनाउँथेँ । सुन्नेहरू द्रवित हुन्थे । त्यही भएर पनि होला, मलाई लेख्दालेख्दै छोडूँजस्तो लागेन । अर्कातिर त्यसले मेरो शोकलाई हल्का बनाउँदै लगेको थियो । सुरुमा सिद्धिचरणजी समवेदना दिनका लागि मकहाँ आउनुहुँदा 'गौरी'का सुरुका केही अंश मैले उहाँलाई सुनाएको थिएँ । केही समयपछि भेट हुँदा उहाँले 'त्यो लेखाइ कहाँ पुग्यो ?' भनेर सोध्नुभयो । मैले भने त्यसलाई योजनाबद्ध रूपमा अघि बढाएको थिइनँ । 'त्यत्तिकै छ,' मैले भनेँ । 'यो कविलाई गोली ठोक्नुपर्छ,' सिद्धिचरणले भन्नुभयो, 'त्यस्तो कवितालाई पूरा नगरेर बीचैमा छोड्ने ?' गौरीका सुरुका पंक्ति सुनेर सिद्धिचरणले आँखाभरि आँसु बनाउनुभएको थियो । त्यतिवेलै बाबुराम आचार्य पनि कविताका अंश सुनेर भलभली रोएका थिए । 
पीडा, दुःख, पीर र आघात एउटा व्यक्तिको हो तर त्यसलाई अरूले पनि आफ्नै ठान्न सक्नुपर्छ । तब मात्र कुनै कविता प्रसिद्ध हुने हो । हुन त 'गौरी' लेख्ने वेला मैले यो काव्य यति प्रसिद्ध होला भनेर कल्पनै गरेको थिइनँ । कुनै पनि कविले कविता लेख्दा क-कसलाई प्रभाव पार्ला भनेर लेख्दैन । दर्शकलाई रिझाउने मात्रै कविता लेखियो भने त्यस्तो कविता कविता होइन । कविले आफ्ना मात्रै कुरा भन्न थाल्यो भने त्यो पनि कविता हैन । 'गौरी' लेख्दा मैले दुइटा कुरामा ध्यान पुर्‍याएको थिएँ— एक, यसको भाषा अत्यन्तै सरल हुनुपर्छ । किनभने, करुण रसको भाषा यसै पनि सरल हुनैपर्छ । दोस्रो, यस काव्यका विशेष पाठकहरू महिला हुनेछन् भनेर पनि सरल बनाएँ । नेपाली महिला त्यति शिक्षित थिएनन् । महिला र गाउँका अशिक्षित पाठकले सुन्दा पनि यो सुबोध र हृदयंगम होस् भन्ने मैले ख्याल गरेको थिएँ । कविता कहाँनिर पुगेर समाप्ति गर्ने भन्नेचाहिँ कुनै पूर्वयोजना थिएन ।

No comments:

Post a Comment