Monday, 6 May 2013

किशोरावस्थामा पुगेपछि हार्मोन प्रभाव

म १९ वर्षकी किशोरी हुँ। मेरो स्तनको टुप्पो राम्रोसँग वृद्धि नभएका कारण मलाई चिन्ता भैरहन्छ। स्तन पनि राम्रोसँग विकसित भएको छैन।  मेरो समस्याको समाधान गर्ने कुनै उपाय छैन ? यो के कारणले हुन्छ र यसले भावी जीवनमा कस्तो असर गर्छ ?
७१६९९
तपाईंलाई थाहै होला, किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तन भन्नाले सामान्यतः  महिलाको छातीमा हुने दुई विशेष ग्रन्थिलाई जनाउँछ। स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। सामान्यतः  दुई-तीन वर्ष ढिलो-चाँडो हुनुलाई स्वाभाविक मानिन्छ। दुवै स्तनको विकास समान रूपमा नभएर एउटाको पहिले र अर्कोको केही पछि हुन  सक्छ, तर स्तनको विकास पूरा हुँदा दुवै स्तनको आकार बराबरजस्तै हुन्छ। थोरै असमानतालाई सामान्य मानिन्छ। दूध उत्पादन गर्न आवश्यक  पर्ने ग्रन्थि तथा नलीहरूको विकास किशोरावस्थामा सुरु भए पनि गर्भवती हुँदा तथा स्तनपान गराउँदा निस्कने हार्मोनहरूले नै स्तनको  विकासलाई पूर्णता दिन्छन्। स्तनको आकार तथा स्वरूप प्राकृतिक रूपमै हुने भएकाले यसमा हामीले चाहेअनुसारको नियन्त्रण नहुन सक्छ।