Tuesday, 28 August 2012

रहेनन् आर्मस्ट्र्रङ


वासिङ्टन , भाद्र ११ - चार दशकअघि चन्द्रमामा मानव पाइला पर्ने कल्पना पनि दुर्लभ थियो । तर, सन् १९६९ को जुलाई २० मा पृथ्वीको उक्त उपग्रहमा पहिलो मानव पाइला राखेर अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्र्रङले विश्वमै हल्लीखल्ली मच्चाइदिए । बीसौं शताब्दीका तिनै महान हस्ती आर्मस्ट्रङको शनिबार निधन भएको छ ।
८२ वर्षीय आर्मस्ट्र्रङको यसै महिनाको सुरुमा बाइपास शल्यक्रिया गरिएको थियो । त्यसपछि मुटुमा देखिएको समस्याका कारण उनको निधन भएको जनाइएको छ ।
'एपोलो ११' नामक यानमा आर्मस्ट्रङसँगै एडवन बज एलडि्रनले चन्द्रमामा पाइला टेकेका थिए । विश्वभर ५० करोडभन्दा बढीले उक्त दृश्य टेलिभिजनमा हेरेका थिए । उक्त महान कार्य हेर्न भनेरै धेरैले टेलिभिजन किनेका थिए । त्यहाँ पुगेपछि आर्मस्ट्रङले 'एउटा मानिसको सानो पाइला तथा मानवजातिका लागि विशाल फड्को' भएको बताएका थिए । उनको उक्त भनाइलाई गएको शताब्दीकै चर्चित उद्धरणका रूपमा लिइन्छ । तयारी गरिएको उक्त भनाइका क्रममा उनले सानो व्याकरणीय त्रुटि गरेका थिए । 'एउटा मानिस' भन्नुपर्ने ठाउँमा उनले झुक्किएर 'मानिस' मात्र भनेका थिए । तर ती महान व्यक्तिको सानो त्रुटिलाई सबैले माफी दिए । तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले उनीहरू चन्द्रमामा छँदै टेलिफोन गरी बधाई दिएका थिए ।
चन्द्रमाबाट फर्केपछि आमस्ट्रङलाई उनको देश अमेरिकालगायत विभिन्न मुलुकहरूले सम्मान गरे । उनी विश्वभर नै चर्चित भए । तर विश्वव्यापी बनेको आफ्नो ख्यातिलाई उनले कहिल्यै भजाएनन् र सार्वजनिक चासोबाट सधैं बाहिरै रहन मन पराए । श्रद्धाञ्जलिमा पनि विश्वले उनको यसै नरम व्यवहारलाई सम्भिmरहेको छ । आफ्नो जीवनी निकै मूल्यमा बिक्री भएको थाहा पाएपछि उनले स्मरणमा रहने वस्तुहरूमा पनि हस्ताक्षर गर्न छाडेका थिए । उनी सार्वजनिक कार्यक्रममा देखा पर्न र अन्तर्वार्ता दिन पनि सितिमिति चाहँदैनथे ।
आक्कलझुक्कल सार्वजनिक हुने उनले यसै वर्ष अस्ट्रेलियन टिभिमा दिएको अन्तर्वार्तामा आफूले चन्द्रमामा बिताएको तीन घन्टाबारे चर्चा गरेका थिए ।
चन्द्रमामा आर्मस्ट्रङ र उनका साथीले नमुना संकलन र प्रयोग सञ्चालन गरी आफूहरू त्यहाँको सतहमा हिँडेका तस्बिरहरू खिचेका थिए । त्यहाँ पुगेको पल कस्तो महसुस भयो भन्ने प्रश्नमा आर्मस्ट्रङको जवाफ थियो, 'धेरै धेरै सानो ।' १९६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्र चन्द्रमामा मानव पुर्‍याउने प्रतिबद्धता जनाइसकेका थिए । त्यसको सात वर्षपछि आर्मस्ट्रङले आफ्नो सानो पाइला चन्द्रमामा राखिदिए ।
आर्मस्ट्रङ १९३० अगस्त ५ मा ओहियोको वापाकोनेटामा जन्मिएका थिए । पन्ध्र वर्ष छँदा उडान तालिम लिएका उनले १६ औं जन्मजयन्तीमा विमानचालकको अनुमतिपत्र लिएका थिए । नौसेनाका विमान चालक उनी कोरियाली युद्धका क्रममा ७८ पटक त्यसतर्फ गएका थिए ।
आर्मस्ट्रङ नासाको पूर्वसंस्था नेसनल एड्भाइजरी कमिटी फर एरोनिटिक्समा १९५५ मा प्रवेश गरेका उनी १९६२ मा अन्तरिक्ष यात्री बनेका थिए । चन्द्रमा पुगेको दुई वर्षपछि १९७१ मा उनले नासाबाट अवकाश लिए । उनले दस वर्षसम्म सिनसिनाटी विश्वविद्यालयमा अन्तरिक्ष इन्जिनियरिङसमेत पढाए ।
'एपोलो ११ चन्द्रमा मिसन' का चालक माइकल कोलिनले उनलाई सबैभन्दा महान भन्दै आफूले 'मिस' गरिरहने जनाएका छन् । चन्द्रमामा सँगै पाइला टेकेका एल्डि्रनले उनलाई 'विश्व उपलब्धिका नेता तथा अत्यन्त क्षमतावान् कमान्डर' भनेका छन् ।
पृथ्वीको पहिलोपटक परिक्रमा गर्ने जोन ग्लेनले आर्मस्ट्रङको नरमपनको खुलेर प्रशंसा गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनको देहावसानबाट निकै दुःखी भएको जनाएका छन् । आर्मस्ट्रङ अमेरिकाका सार्वकालिक साहसी नायक भएको उनले उल्लेख गरेका छन् । 'उनी यो युगका मात्र होइनन्, सबै युगका महान व्यक्ति हुन्,' ओबामाले ट्वीटेका छन् । आर्मस्ट्रङले सानो पाइलाको व्यापक शक्तिबारे अमेरिकी नागरिकलाई पाठ सिकाएको उनले उल्लेख गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डले उनको देहावसानले मानव विकासको एउटा अचम्मलाग्दो युगको अन्त्य भएको बताएकी छन् ।
आर्मस्ट्रङको उपलब्धिले युवा पुस्तालाई सपना पूरा गर्न कडा मेहनत गरी आफूभन्दा पनि ठूला लक्ष्यका लागि निस्वार्थ रूपमा लागि पर्न अभिप्रेरित गर्ने अपेक्षा उनको परिवारले गरेको छ । परिवारद्वारा जारी विज्ञप्तिमा उनलाई 'अनिच्छुक अमेरिकी नायक' भनिएको छ । प्रशंसकहरूलाई उनको 'सेवा, उपलब्धि र विनम्रता' को सम्मान गर्न आग्रह गरिएको छ । 'अर्कोचोटि जून लागेको रात बाहिर हिँड्दा तपाईंलाई हेरेर मुस्कुराइरहेको चन्द्रमा देखे आर्मस्ट्रङ सम्भिmएर आँखा झिम्क्याइदिनू,' उनको परिवारले भनेको छ ।
गत नोभेम्बरमा उनले अमेरिकाको सबैभन्दा ठूलो नागरिक अवार्ड 'कंग्रेसनल गोल्ड मेडल' पाएका थिए ।

प्रकाशित मिति: २०६९ भाद्र ११ ०९:१७ 

No comments:

Post a Comment