Saturday, 8 September 2012

बुद्धमालाको एउटै रूखको फलबाट १२ लाख



मझुवा (रामेछाप), भाद्र २४ - एउटा रूखबाट फल्ने फलको आम्दानी कति होला ? १ हजार, २० हजार या १ लाख ? योभन्दा बढी पैसा एउटा रूखको फलबाट लिन सकिँदैन लाग्न सक्छ । तर यी यहाँ एउटै रूखमा फलेको फलबाट बर्सेनि १२ लाख आम्दानी भएको छ । रामेछापको मझुवा गाविसका धनबहादुर लामाले आफ्नो एउटा बोधिचित्त (बुद्धमालाको) रूखमा फलेको दानाबाट गएको वर्ष ठ्याक्कै १२ लाख कमाए ।
काभ्रेको तिमालमा रहेको छोरीको घरमा पुगेका बेला सम्धीले दिएको ५ वटा बोधिचित्तको बिरुवा ल्याएर बारीमा सारेका लामालाई यसको फल बेचेर यति धेरै पैसा आउँछ भन्ने लागेको थिएन । बारीको कान्लामा सारिएका बिरुवामध्ये ३ वटा मरे । बाँकीमा लाग्ने गेडा उनी त्यसै खेर फाल्थे । 'पैसा आउँछ भन्ने थाहै थिएन अनि नफालेर के गर्नु त ?' लामा भन्छन्, अहिले सम्झन्छु मैले केही वर्षमा लाखौं पैसा फालेछु । त्यही छोरीको घरतिरबाट बुद्धमाला खोज्दै केही व्यक्ति घरमै आइपुगेपछि उनीहरूले खुसीले दिएको पैसा थापेपछि उनले त्यसअघि त्यसै फाल्ने गरेको गेडाबाट पैसा आउँछ भन्ने भेउ पाए । 'पहिलो वर्ष मलाई १ हजार २ सय दिएर मनग्यै दाना लगे,' लामाले भने, 'म त्यही पैसामा मख्ख भएँ । दोस्रो वर्ष १४ हजार, तेस्रो वर्ष ५४ हजारमा उनले भएभरका फल बेचें ।' अघिल्लो वर्ष भने उनी एउटा बोटमा फलेका दाना लिएर काठमाडौं पुगे, तब त्यसको मूल्य थाहा भयो । 'मलाई ठ्याक्कै १२ लाख दिए,' लामाले भने, 'बजार खोज्न नहिँडी घरमै आएर त्यसरी पैसा दिएको देखेर म त छक्कै परें ।'
तिब्बती लामाहरूले अपार महत्त्व दिने बुद्धमाला दुर्लभ मानिन्छ । यही दुर्लभ फलको खोजीका लागि अहिले मानिसहरू घरघरै आउने गरेका छन् । लामा भन्छन्, फल्नुपर्‍यो बिक्रीको चिन्ता छैन्ा । यो वर्ष मात्र लामाको घरमा काभे्रतिरबाट धेरै व्यापारी आइपुगे । तर लामाको बोधिचित्त बोटमा यसपालि जम्मा ४ वटा मालालाई पुग्ने मात्र दाना लाग्यो । 'यसपालाको दाना केही ठूलो थियो,' लामाले भने, 'त्यसबाट एक लाखमात्र आयो ।'
 बुद्ध धर्म मान्नेले हातमा राखेर गन्ने माला बनाउन यो फल प्रयोग गरिन्छ । १ सय ८ दानाको माला बनाउँदा मुठ्ठीभित्र अट्यो भने त्यो गेडा सबैभन्दा महँगोमा बिक्री हुन्छ । त्यस्तो एउटा मालालाई ५० हजारसम्म पर्ने लामाले बताए । ठूलो दाना केही सस्तो पर्छ । बीस वर्ष जति भने लामाले बोधिचित्तको बिरुवा लगाएको । उनले अहिले सबै ध्यान त्यही बोटलाई दिएका छन् । सँगै लगाएको अर्को रूखमा भने अहिलेसम्म दाना लागेको छैन । अब आउने सिजनमा त्यही रूखबाट २० लाख जतिको फल होला भन्ने आशा लामाले गरेका छन् । 'बोटमा अहिले हालेको पालुवाको हिसाबले यसअघिको भन्दा धेरै फल्छ भन्ने अनुमान छ,' लामाले बताए ।
सामान्य उचाइको रूखमा लाग्ने फल टिप्न उनले भर्‍याङको प्रयोग गर्छन् । काँडा हुने यो रूख चढ्न गाह्रो हुने उनले बताए । दाना टिपेपछि ढिकीमा फल्नुपर्छ । सुकेपछि बोक्रा टाँसिएर दाना निकाल्न केही कठिन भएकाले काँचैमा फल्ने गछौँ लामाले भने । 'फल्दा केही दाना त नास भइहाल्छ,' लामा भन्छन्, 'बाँकीलाई सुकाएर बिक्रीका लागि लैजान्छौं ।' चैतमा फुल्ने र असारको अन्त्यसम्म फल तयार भइसक्ने यो रूखमा कहिलेकाहीँ वर्षको २ पटक पनि गेडा लाग्ने गरेको उनले बताए । बाह्रमासे चाहिँ थोरै फल्ने फल्छ ।
ल्ाामाले लगाएको बिरुवाबाट आएको पैसामा जिव्रो काड्ने गाउँलेहरू धेरै छन् । मझुवाकै जयप्रकाश प्रधानले बोधिचित्तको नर्सरी राखेका छन् । नर्सरी राख्ने प्रधानले मात्र आफ्नो जमिनमा करिब ४ सय बिरुवा हुर्काउँदै छन् । ती बिरुवाले आउँदो २ वर्ष उत्पादन दिने उनको अनुमान छ । मझुवा गाउँमा मात्र होइन, यसको कमाइ सुन्नेको उक्त बिरुवा लगाउनका लागि होड नै चलेको छ ।

साभार : कान्तिपुर दैनिक

No comments:

Post a Comment