काठमाडौ, कार्तिक २७ - यदि तपाईंलाई मधुमेह छ भने जीवनयापनको शैली परिवर्तन गर्न आवश्यक हुन्छ । सधैं स्वस्थ खानाका साथै नियमित व्यायाम गर्नु जरुरी हुन्छ । रोग नियन्त्रणका लागि औषधी पनि खानुपर्ने हुनसक्छ र कसैलाई इन्सुलिनको इन्जेक्सन लगाउनुपर्ने हुनसक्छ । साथै नियमित रगतमा सुगरको मात्रा जाँच्नुपर्छ ।
खानपिन: मधुमेहका बिरामीका लागि कुनै विशेष खानाको जरुरत पर्दैन । हामीले हरेक दिन खाने खानाबाट नै स्वस्थ खानाको व्यवस्था गर्न सक्छौं । तर निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ:
१. चिल्लो र नुन कम भएको खानेकुरा खानुपर्छ ।
२. रेसायुक्त खानेकुरा जस्तै: सागसब्जी, फलफूल, गेडागुडी खानुपर्छ ।
३. दूध तथा दूधबाट बनेका खानेकुरा, बोसोरहित मासु तथा माछा, अन्डाको सेतो भाग मधुमेहका बिरामीका लागि राम्रा खानेकुरा हुन् ।
४. यदि तपाईंको तौल बढी छ भने तपाईंले खाने दैनिक क्यालोरीमा कमी गर्नुपर्छ ।