काठमाडौं, श्रावण २८ - त्रिभुवन विश्वविद्यालय (त्रिवि), चिकित्साशास्त्र अध्ययन संस्थानमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा गर्न नहुनेलगायत मागसहित प्राध्यापक डा.गोविन्द केसी सोमबारदेखि पुनः अनशन बस्ने भएका छन् । विश्वविद्यालयले संस्थानमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारीहरू नियुक्ति गर्ने जमर्को गरेपछि अनशन बस्न बाध्य भएको केसीले बताए ।
यसअघि पदाधिकारी नियुक्ति योग्यता र वरिष्ठता दृष्टिले प्रतिस्पर्धात्मक र पारदर्शी आधारमा हुनुपर्ने मागसहित केसीले गत असार २१ गतेदेखि आमरण अनशन थालेका थिए । त्यसको चार दिनपछि विश्वविद्यालयले वरिष्ठताका आधारमा प्राध्यापक डा. कुमुदकुमार काफ्लेलाई डिन नियुक्त गरेको थियो । काफ्ले सोमबारदेखि सेवा निवृत्ति हुँदै छन् । उनले संस्थानमा ३५ दिनसम्म डिनको रूपमा काम गर्न पाएका हुन् ।
'डिन काफ्लेले सेवा निवृत्ति हुनुभन्दा अघि नै वरिष्ठताका आधारमा रिक्त पदहरूमा पदाधिकारीको नाम सिफारिस गरेर उपकुलपतिसमक्ष पठाए पनि उहाँहरू निष्त्रिmय बस्नुभयो,' केसीले शनिबार कान्तिपुरसँग भने, 'डिनज्यूलाई त्रिविको रजिस्ट्रारले राजनीतिक भागबन्डाको आधारमा नाम सिफारिस गरेर पठाउन भनेपछि हामी पुनः सक्रिय हुन परेको हो ।'
विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिस्ट्रार विभिन्न पार्टीका कार्यकर्ता भएकाले उनीहरू पुनः संस्थानमा दलहरूको वर्चस्व राख्न खोजेको आरोप केसीले लगाए । 'उहाँहरू आधिकारिक रूपमै नियुक्ति राजनीतिक भागबन्डाबाट हुनुपर्ने भन्नुहुन्छ,' उनले भने ।
No comments:
Post a Comment