Sunday, 12 August 2012

पर्वत जिल्लामा यस बर्ष ४० हजार विरुवा रोपिए !


पर्वत साउन २५ । ३२ औं भु–संरक्षण दिवसको अवसरमा पर्वत सदरमुकाम कुस्माबजार स्थित बान्द्रेबिडी चौरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भू–संरक्षण कार्यालय, सामुदायिक सेवा समाज र जनकल्याण सामाजिक महिला समुहको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बातावरणको संरक्षण र भु क्षय रोक्नका लागि बृक्षारोपण कार्यलाई बढाउँदै लैजानुपर्ने बताए । उनले सार्वजनिक महत्वका ठाउँहरुमा बृक्षारोपण गर्नका लागि विभिन्न निकायले देखाएको सक्रियताको प्रसंसा गदैै रोपिएका बिरुवाहरुलाई हुर्काउन नियमित रेखदेख गर्न समेत आग्रह गरे ।
कार्यक्रममा जिल्ला भु–संरक्षण कार्यालयका भू–संरक्षण अधिकृत राजु सापकोटाले भू–क्षय रोक्न जिल्लाका विभिन्न ठाउँमा गरि यस वर्ष ४० हजार भन्दा बढि बिरुवा रोपिएको जानकारी दिए । सो अवसरमा अशोक, कपुर, अमला, बेल, तेजपात, पारिजात लगायतका बिरुवा रोपिएको थियो ।

सामुदायिक सेवा समाज पर्वतका अध्यक्ष मानकुमारी गिरीको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
यसैवीच जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीले ३२ औं भु–संरक्षण दिवसको अवसर पारेर सदरमुकाम बेनीको बस्तीमा खस्ने भलबाढी र पहिरो नियन्त्रणको प्रयास गरेको छ ।
कार्यालयले अर्थुङ्गे–५ स्थीत आँपारुख सामुदायिक वनक्षेत्रमा अमृसो, नेपियर र सजिवनका करिव छ हजार पाँचसय बिरुवा रोपेर सदरमुकाम बेनीमा आउने पहिरो रोकथामको प्रयास शुरु गरेको छ ।
बेनी–पाखापानी सडक खनेपछि नियमित वर्षासंगै खसेको बाढी र सडक खन्दा डोजरले फालेको माटो बगेर सदरमुकामस्थीत क्याम्पसचोकको बस्ती डुभानमा पर्न थालेपछि कार्यालय बस्ती जोगाउने प्रयासमा लागेको हो ।
भु–संरक्षण कार्यालयले आयोजना गरेको दिवसका अवसरमा अर्थुङ्गेस्थीत इन्द्रबक्स गणका नेपाली सेनाका जवान, बेनीको क्याम्पसचोकस्थीत बाढी नियन्त्रण तथा ढल मर्मत उपभोक्ता समिति र आँपारुख सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा बिरुवा रोपिएको हो ।
लामो समयदेखि खसेको पहिरो र बाढीका कारण बजारक्षेत्र नै जोखिममा पर्न थालेकोले भु–संरक्षण दिवसको अवसर पारेर दुई हजार पाँचसय अम्रिसो, एक हजार आठसय नेपियर र दुई हजार सजिवनका बिरुवा रोपिएको कार्यालय प्रमुख दिवाकर पौडेलले बताए ।
करिव छ हजार पाँचसय बिरुवा पहिरो खस्ने स्थानमा नै रोपिएको हुनाले उक्त बिरुवाका कारण माटो बग्न रोकिएमा बजार सुरक्षित रहने अपेक्षा गरेको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले नेपालमा ८३ प्रतिशत जमिन भिरालो भएको हुनाले माथिल्लो क्षेत्रको जमिन असामान्य हुनासाथ तल्लो क्षेत्रलाई समेत क्षती पु¥याउने भएकोले भु–क्षय रोक्न सबै क्षेत्र लाग्नुपर्ने बताए ।
कार्यालयले दिवस मनाउने अवसरमै बेनीस्थीत लक्ष्मिनारायणको मन्दीरमा तिनवटा श्रीखण्डका बिरुवा समेत रोपेको छ । सरकारी वकिल कार्यालयको शिलन्यासका लागि बेनी आएका महान्यायधिवक्ता मुक्ति प्रधानले मन्दिर परिसरमा सेतो चन्दनका रुपमा मानिएको श्रीखण्डका बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

No comments:

Post a Comment